Skip to content Skip to footer

परिचय

पश्चिम नेपालको औद्योगिक क्षेत्रको रुपमा परिचित बुटवल नगरीबाट उत्तर तीन किलोमीटर र पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारबाट दक्षिणपश्चिम ३४ किलोमीटरको दूरीमा रहेको सिद्धबाबा मन्दिर धार्मिक आस्था राख्नेहरुको पवित्र भूमि हो । त्यतिमात्र होइन सिद्धबाबा क्षेत्रमा तत्कालीन भारत उज्जैन राज्यका राजा भर्तृहरिले तपस्या गरी सिद्धि प्राप्त गरेको किंम्बदन्ति समेत पाइन्छ । सिद्धपुरुष भर्तृहरिको तपोभूमि र आदिमानव रामपिथेकसको विचरण थलोको रुपमा समेत लिइन्छ हो सिद्धबाबा क्षेत्रलाई ।

सिद्धबाबा मन्दिर धार्मिक आस्थाको केन्द्र हो । यो मन्दिरमा दर्शन तथा पूजाआजा गरेपछि सिद्धि प्राप्त हुने भएको हुँदा दैनिक हजारौंका संख्यामा श्रद्धालु भक्तजनहरु यहाँ आइ पुग्छन् ।धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्धि कमाउँदै आएको यो क्षेत्रको थप विकासका लागि सिद्धबाबा मन्दिर विकास समिति,दोभान–पाल्पा कटिबद्ध रहँदै आएको छ ।

यो मन्दिर सञ्चालन गर्नका लागि सिद्धबाबा मन्दिर विकास समितिको आफ्नै विधान रहेको छ । यसलाई वैधानिकता दिनका लागि जिल्ला प्रशासन कार्यालय,पाल्पामा सम्वत् २०५६ सालको बैसाख १० गते दर्ता गरी वर्षेनी नवीकरण गरिदै आइएको छ । यो समितिको दर्ता नं. ३५५ रहेको छ । यो मन्दिरको संरक्षकको रुपमा तिनाउ गाउँपालिका रहने व्यवस्था गरिएको छ ।

सिद्धबाबा मन्दिरको प्रचार प्रसार गर्ने,यसको धार्मिक महत्व र ऐतिहासिकतालाई वढवा दिन,मन्दिरको भौतिक संरचनाको संरक्षण एवम् पुनर्निर्माण गर्न र यस मन्दिरबाट उठेको रकमलाई व्यवस्थित रुपमा राख्न र परिचालन गर्नका लागि सो मन्दिर विकास समिति गठन गरिएको साँचो हो ।

यस मन्दिरलाई थप गतिशील बनाउनका लागि सिद्धबाबा मन्दिर विकास समितिका पदाधिकारीहरु,यहाँ कार्यरत मूल पुरोहित,कर्मचारीहरु र पण्डितहरुको अथक प्रयास र लगानशीलता जरुरी हुन आउँछ ।

मन्दिर परिसरमा रहेका महत्वपूर्ण स्थलहरु

क. सन्तमहन्त आश्रम
ख.श्राद्ध स्थल
ग.पार्किङ स्थल
घ. आधुनिक शौचालय
ङ. धर्मशाला
च. पूल प्रसादी विक्री कक्ष र मिष्ठान्न भण्डार
छ. धर्मशालाभित्र तालिम हल
ज.मूल मन्दिर नजिकै वाचनालय
झ) बोटानिकल गार्डेन
ञ) कुहिरेभीर र छरछरेको झरना
ट) रामपिथेकस पार्क